हिजो, लाल बहादुर,
कुप्रा कुप्रा झुप्राहरुमा,
अचेतन अन्धकारका थुप्राहरुमा,
घिउको बत्ती बालेर जान्थ्यो।
भोक नमर्ने खस्रो गास,
निद्रा नपर्ने भुल्लो बास,
जे पाए पनि खुशी नै मान्थ्यो।
दुस्मनका छातीमा तिखा तिर,
बहिरा कानमा राता झिर,
एकलब्य जसरी ताकेर हान्थ्यो।
हिजोको लाल बहादुर,
बैरिको काल बहादुर!!!
आज, लाल बहादुर,
अट्टालिका साचेर आँखाभरी
तिलोत्तमा राखेर काखाभरी
मसिहाको स्वाग पारेर डुल्छ
आर्तहरुको करुण चित्कार
धर्ती मिलाउने झक्की बिचार
गिलासभित्र हालेर निल्छ
नोटको गढ्ढी पजेरो कार
अमुक मालिकको चुत्थो खकार
सिधै भन्छ-"लिन्छु जो मिल्छ"
आजको लाल बहादुर,
बिचरा काल बहादुर!!!
भोली, लाल बहादुर,
जेलको चिसो छिडिको बास,
इज्जत पैसा सर्बनास,
मरनको दिन गन्न थाल्ला
बिउझेर तितो सपनाबाट,
झस्केर झल्ला जपनाबाट
पछुतो पछुतो भन्न थाल्ला
आफुले हिजो थिचेको
किरा ठानेर मिचेको
मान्छेको हुकार सुन्न थाल्ला
भोलिको लाल बहादुर
पतित तिरस्क्रित, स्याल बहादुर!!!!
1 comment:
dami hai mitra....really nice..lalbahadhur...
Post a Comment